Listen Live

सुदूरपश्चिमलाई ४ गोल हान्दै एपीएफ सेमिफाइनलमा
Posted On: Dec 21, 2016
सुदूरपश्चिमलाई ४ गोल हान्दै एपीएफ सेमिफाइनलमा

सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेको छ। अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गर्दै तीन अंक सुरक्षित गर्यो। सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा जारी प्रतियोगिताअन्र्तगत पहिलो खेलमा एपीएफको टोलीले सुदूरपश्चिमाञ्चललाई ४–१ ले पराजित गर्यो। समूह ‘क’ मा ६ अंक बनाएको एपीएफ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो।

खेलको ११ औं मिनेटमा एपीएफकी रेखा पौडेलले गोल गरेकी थिइन्। तर, त्यसको ८ मिनेटमा हेमा चौधरीले सुदूरपश्चिमका लागि बराबरी गोल गर्दै एपीएफलाई अलमलमा पारेकी थिइन्। १९ औं मिनेटमा हेमाले डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। यद्धपी सुदूरपश्चिमाञ्चलले बराबरी गोलको खुशी धेरै बेर कायम राख्न सकेन।

२८ औं मिनेटमा एपीएफकी तेजकुमारी गुरुङले गोल गरिन्। पश्चिमाञ्चलविरुद्ध गोल गरेकी अनिता केसीले एपीएफका लागि खेलको ३६ औं मिनेट पुन गोल गरिन्। पहिलो हाफमा ३–१ ले अग्रता बनाएको एपीएफका लागि खेलको ४७ औं मिनेटमा रञ्जना दर्जीले अन्तिम गोल गरिन्। अनिता केसीलाई प्लयेर अफ दि म्याच घोषित गरियो।

एपीएफ र नेपाल पुलिस क्लब समूह ‘क’ बाट समान ६ अंक बनाउदै सेमिफाइनल प्रवेश गर्न सफल भए। मंगलबार भएको दोश्रो खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई ३–० ले पराजित गर्यो। महत्वपूर्ण तीन अंक जोड्ने क्रममा मध्यमाञ्चलका लागि रश्मी कुमारी घिसिङले दुइ तथा मनिषा थापामगरले एक गोल गरिन्। दुई गोल गरेकी रश्मी ‘प्लयेर अफ दि म्याच’ घोषित भइन्। समूह ‘ख’ बाट यसअघि नै, त्रिभुवन आर्मी क्लब ६ अंकसहित अन्तिम चारमा प्रवेश गरिसकेको छ। प्रतियोगिताअन्तर्गत बुधबार एपीएफले नेपाल पुलिसको र अर्को खेलमा मध्यमाञ्चलले त्रिभुवन आर्मी क्लबसँग भिडन्त गर्नु पर्नेछ।

Comments