Listen Live

यसरी खेर जाँदैछ काठमाडौं नजिकैको ५ मेगावाट विजुली
Posted On: Dec 21, 2016

काठमाडौं उपत्यकामा विजुली कटौती नभएको झण्डै दुई महिना हुन लागेको छ । देशको राजधानी काठमाडौंमा चौबीसै घण्टा विजुली आपूर्ति गर्न सरकारले विद्युत खपत कम गराउने अनेकौँ जुक्ति लगाइसकेको छ । 

तर काठमाडौंबाट २८ किलोमिटरको दुरीमा खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले उत्पादन गरेको ५ मेगावाट विजुली यत्तिकै खेर गैरहेको छ । खानीखोला हाईड्रोपावर कम्पनीले ललितपुरको भट्टेडाँडामा उत्पादन गरेको ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाउँदा खेर गैरहेको हो । 

खानीखोला हाईड्रोपावर कम्पनी प्रालिका कार्यकारी निर्देशक गणेश कार्की भन्नुहुन्छ ‘६ मेगावााट विजुली उत्पादन हुन्छ तर प्रसारण लाइनको अभावमा हामीले वैकल्पिक उपाय निकालेर ११ केभीएको लाइनबाट डेढ मेगावाट विजुली मात्र प्रसारण गरिरहेका छौँ ।’ उहाँका अनुसार ललितपुरको भट्टेडाँडादेखि काठमाडौंको थानकोट सम्मको २८ किलोमिटर  ३३ केभीएको ट्रान्समिसन लाइन बन्न नसक्दा काठमाडौंको नजिकै उत्पादन भएको विजुली खेर गैरहेको छ । ‘हामीले विजुली उत्पादन गरिसक्दा ट्रान्समिसन लाइन पनि पुर्‍याउने भन्ने सम्झौता हुन्छ, सरकारले एउटा कम्पनीलाई बनाउने जिम्मा दिएको थियो तर अहिलेसम्म बनेको छैन ।’ 

सम्पन्न भएको चार महिनापछि बल्ल व्यवसायिक प्रसारण  

पाँच वर्षअघि लाइसेन्स लिएर २०६८ सालबाट सुरु भएको खानीखोला जलविद्युत आयोजनाले असारदेखि नै विद्युत प्रसारण गर्न थालेपनि नेपाल विद्युत प्राधिकरणले भने दसैँदेखि मात्र व्यवसायिक प्रसारणको अनुमति दिएको थियो । ‘एक त विद्युत उत्पादनको काम सम्पन्न भएको चार महिनापछि बल्ल व्यवसायिक प्रसारणको अनुमति पायौं, अर्को उत्पादित सबै विद्युत बिक्री गर्न पाएनौँ, सरकारको यस्तो लापरवाहीले विजुली उत्पादन भएपनि के गर्ने ? मेसिन नचलाई बन्द गरेर राख्नुपरेको छ ।’ कार्यकारी निर्देशक गणेश कार्कीले बताउनुभयो । 

जताततै घाटै घाटा 

पाँच वर्ष समय खर्चेर उत्पादन गरेको ६ मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जडान हुन नसक्दा यसको घाटा सेयर होल्डर, विद्युत उत्पादक कम्पनी र देशले नै व्यहोरिरहेको छ । ६ मेगावाट क्षमताको बिजुलीमध्ये अहिले १ मेगावाट मात्र प्रसारणमा छ, बाँकी विद्युत युनिटहरु बन्द गरेर राख्नुपर्दा मासिक करोडौं घाटा व्यहोर्नुपरेको कार्यकारी निर्देशक गणेश कार्कीले बताउनुभयो । 

‘अहिले मुश्किलले डेढ मेगावाट विजुली बिक्री गरिरहेका छौं, अहिले हिउँदको समय भएर जम्मा ५ मेगावाट उत्पादन हुँदो हो, साढे तीन त त्यसै खेर गइरहेको छ । अब बैशाखदेखि फेरि ६ मेगावाट नै निस्कन्छ’ कार्यकारी निर्देशक कार्की भन्नुहुन्छ, ‘हामीलाई विजुली बिक्री भएन भनेर बैंकले व्याजसहित किस्ता असुल्न छोड्दैन, विद्युतको यत्ति धेरै माग भइरहेको बेला काठमाडौंमा त्यो विजुली ल्याउन पाए कति काम दिन्थ्यो, हेर्नुहोस् त । प्रत्यक्ष मारमा हामी कम्पनी परे पनि अप्रत्यक्ष रुपमा सबैलाई घाटा छ ।’

यस बारेमा उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण सबै जानकार रहेको र विगतमा चासो नदिएपनि अहिले प्राधिकरणले सकारात्मक रुपमा लिएको कार्कीले बताउनुभयो । उहाँका अनुसार समयमा काम सम्पन्न गराउन समय समयमा अनुगमन गरी दण्ड र पुरस्कार दुवैको व्यवस्था हुनुपर्छ । 

Comments